एड्भान्स तालिम सम्पन्न

एड्भान्स तालिम सम्पन्न

प्रदेश स्काउट कार्यालय, कोशी प्रदेशको आयोजना एवं स्थानीय स्काउट कार्यालय, बुद्धशान्तिको व्यवस्थापनमा ६४ औं व्यायज उड्व्याज र ५२ औं गर्ल्स एड्भान्स तालिम सम्पन्न भएको छ । २०८१/१२/२४ गतेदेखि ३० गतेसम्म संचालन भएको तालिममा ४५ जना स्काउट लिडरहरुको सहभागिता रहेको थियो । आज मिति २०८१/१२/३० गते आयोजित समापन समारोहमा कोशी प्रदेश सभाका माननीय चिन्तन पाठकज्यूको प्रमुख आतिथ्यता रहेको थियो । प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यूको अध्यक्षता रहेको समापन समारोहमा नेपाल स्काउटका राष्ट्रिय प्रमुख आयुक्त श्री देवराज घिमिरेज्यूको विशेष आतिथ्यता रहेको थियो । तालिममा पुरुषतर्फ राष्ट्रिय प्रशिक्षक श्री शिवकुमार पौडेलज्यू र महिलातर्फ राष्ट्रिय शैक्षिक पद्धति आयुक्त श्री भुवन सुब्बाज्यू कोर्ष लिडर रहनुभएको थियो । कार्यक्रममा राष्ट्रिय सुशासन, स्रोत विकास तथा वित्त आयुक्त श्री अरुण बस्नेतज्यू, राष्ट्रिय प्रशिक्षकज्यूहरु, प्रदेश परिषद सदस्यज्यूहरु, स्थानीय प्रमुख आयुक्तज्यूहरु, सहायक राष्ट्रिय प्रशिक्षकज्यूहरु, स्काउट लिडरज्यूहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय प्रमुख आयुक्त श्री शिवप्रसाद पौडेलज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रदेश सहायक श्री कुशेश्वर रायले गर्नुभएको थियो । तालिम सञ्चालनका लागि बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोग रहेको थियो ।